Wednesday, April 1, 2009

एकताको आधारमा संघीयता अंगाल्न कोइरालाको जोड


 
एमाले नेता माधव नेपालका साथ कोइराला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशमा विखण्डन हुने संभावना देखिएको भन्दै भावी संविधानमा संघीयता अंगाल्दा राष्ट्रिय एकतालाई आधार बनाउनुपर्ने सुझाव दिएका छन्।

संविधानसभा अन्तर्गतको संवैधानिक समितिमा आफ्नो पार्टीको तर्फबाट भावी संविधानको अवधारणा प्रस्तुत गर्दै कोइरालाले कार्यकारी राष्ट्रपतीय पद्धति नेपालको लागि ठीक नहुने बताए।

नयाँ संविधानको मस्यौदा बनाउने जिम्मा पाएको संवैधानिक समितिमा मंगलबार पहिलोपल्ट उपस्थित कोइरालाले समितिको सदस्यको रुपमा शपथ लिएलगत्तै भावी संविधानबारे आफ्नो पार्टीको धारणा प्रस्तुत गरेका थिए।

उनले खासगरी संघीयताबारे आफ्नो चिन्ता प्रकट गरेका थिए।

मूल आधार

“देश विखण्डन हुने सम्भावनापनि देखिएको छ। त्यसकारण मलाई लाग्दछ, एकतालाई नैं संघीयताको मूल आधार मान्नुपर्दछ,” कोइरालाले भने।

उनले भने, “संघीयताको अर्को आधार आर्थिक सक्षमता हुनुपर्दछ।”

भावी संविधानमा प्रधानमन्त्री र राष्ट्रप्रमुखको व्यवस्थाबारे दलहरुबीच भिन्न भिन्न विचार आइरहेका बेला कोइरालाले संसदले प्रधानमन्त्री चुन्ने हालको व्यवस्थाको विकल्प नभएको बताए।

उनले भने, “नेपालमा जुन परिस्थिति र माहौल अहिले छ, त्यसलाई विचार गर्दा यहाँ राष्ट्रपतीय प्रणाली हुनुहुँदैन भन्ने हाम्रो धारणा छ।”

संवैधानिक समितिमा अहिलेसम्म दशवटा राजनीतिक दलहरुले आ आफ्नो तर्फबाट भावी संविधानको अवधारणा पेश गरिसकेका छन्।

संवैधानिक समितिको कार्यतालिका अनुसार सबै क्षेत्रबाट पाएको सुझावको अध्ययन गरेर आउँदो एक महिनाभित्र प्रारम्भिक मस्यौदा संविधानसभाको बैठकमा पेश गरिसक्नुपर्नेछ।

No comments:

Post a Comment